आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गतको समूह चरणको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट विकेट गुमाएर पूरा गरेको हो ।
खेलमा नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे ।
नेपालका लागि दोस्रो पटक टी २० विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल कामी शून्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।
नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ।