विराटनगरः विद्युत प्राधिकरणले सडक बत्तीको महशुल तिर्न ताकेता गरेपछि विराटनगर महानगरपालिकाले विद्युत प्राधिकरणसँग सम्पत्ति कर पोल भाडा तिर्न पत्र काटेको छ ।
भुक्तानी तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाको सडक बत्तीको लाइट काटेको थियो । त्यसपछि पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र बिजुलीको पोलको भाडा मागेको हो ।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार महानगरपालिकाले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । गत २१ असोजमा बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेको थियो ।
सडकबत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले महानगरका तीन वटा वडाका सडक बत्तीको विद्युत काटे पनि महानगरले फेरि जोडेको थियो । प्राधिकरणबाट बक्यौता तिर्न दबाब आएपछि महानगरपालिकाले विद्युत प्राधिकरणलाई पत्र लेख्दै सम्पत्ति कर र महानगर भित्र रहेका बिजुलीको पोलको भाडा तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बिजुलीको खम्बा इन्टरनेट सर्भिस प्रभाइडरहरुलाई दिए बापत भएको आम्दानीको १० प्रतिशत बहाल कर पनि तिर्न आग्रह गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिहीबार प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १ सय ५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९ सय २५ रुपैयाँ भाडा बुझाउन अनुरोध गरेको छ ।
महानगरले जम्मा १० करोड १ लाख १४ हजार ६ सय ५८ रुपैयाँ जम्मा कर अनुरोधसहित पत्र पठाएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ मा विजुलीको प्रति पोलको भाडा २७५ रुपैयाँ, २०७५–०७६ मा प्रति पोल ३०० रुपैयाँ, २०७६–७७ मा पोलको शुल्क ३५० र २०७७–७८ मा ४०० तोकेको थियो । २०७८–७९ मा ४२५, २०७९–८० मा ४५० र चालु आर्थिक वर्षका लागि ४७५ रुपैयाँ प्रति पोलको वार्षिक शुल्क तोकेको छ ।
प्राधिकरणले एक्कासि विद्युत कटौती गरेपछि बक्यौता तिर्नका लागि आग्रह गर्दै पत्र पठाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।