लेटाङ । प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले लेटाङ नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण गरेको छ । कोशी प्रदेश सरकारको प्राङ्गारिक खेतीका लागि जैविक प्राङ्गारिक जीवाणु मल वितरण कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषकलाई मल वितरण गरेको हो ।
लेटाङ–१, मा कफी खेती गर्दै आएका कृषकलाई लक्षित गरी स्थानीय अर्गानिक कफी खेती समूहमा आबद्ध २५० जना कृषकलाई मल उपलब्ध गराइएको हो । यस्तै, नगरपालिकाका अन्य वडाका ८ जना सुपारी खेती गर्ने कृषकलाई समेत मल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
मलका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरी कृषकबाट माग सङ्कलन गरेको थियो । कृषकको मागका आधारमा मल वितरण गरिएको कृषि शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत सहभागितामा कुल ९ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको बजेटबाट १७ मेट्रिक टनभन्दा बढी प्राङ्गारिक मल वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।
शिवशक्ति बायो टेक प्रालि, उर्लाबारीले उत्पादन गरेको ‘सुपरडस्ट’ र दानेदार गरी दुई प्रकारको मल कृषकलाई वितरण गरिएको हो । नगर प्रमुख भुपेन्द्रकुमार लावती, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईलगायतले कृषकलाई मल हस्तान्तरण गर्नुभयो ।
मल हस्तान्तरण गर्दै नगर प्रमुख लावतीले प्रदेश सरकारले प्राङ्गारिक मलमा समेत अनुदानको व्यवस्था गरेसँगै स्थानीय तहलाई पनि प्राङ्गारिक खेती प्रवद्र्धनमा काम गर्ने अवसर खुलेको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले पनि प्राङ्गारिक मलमा अनुदान दिने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो । लेटाङको पहाडी क्षेत्रमा रासायनिक मलको प्रयोग तुलनात्मक रूपमा कम हुने भएकाले पहाडी वडालाई नै अर्गानिक वडा बनाउने गरी नगरपालिकाले कार्यक्रम अघि बढाउने उहाँको भनाइ छ ।
शिवशक्ति बायो टेक प्रालिका सञ्चालक राजीव खड्काका अनुसार कम्पनीले उत्पादन गरेको प्राङ्गारिक मलमा नाइट्रोजन, फस्फोरस, पोटाससहित अन्य विभिन्न सूक्ष्म खाद्य तत्व पाइन्छ । माटोको अवस्था सुधार गर्न सुरुवाती वर्षमा बढी मात्रा प्रयोग गर्नुपर्ने भए पनि माटोको गुणस्तर सुधार हुँदै गएपछि हरेक वर्ष मलको मात्रा घटाउँदै लैजान सकिने उहाँले बताउनुभयो ।
खड्काका अनुसार शिवशक्ति प्राङ्गारिक मल गाईवस्तुको गोबर, कुखुराको मल, पिना, बोनमिल, सखरको लालीलगायत १२ वटा तत्वको मिश्रणबाट तयार गरिएको हो । लेटाङका कृषकले यसअघि पनि सो मल प्रयोग गरिरहेकाले परिणाम राम्रो देखिएको उहाँको दाबी छ । मल प्रयोग गरेपछि माटोले छोप्नुपर्ने र खडेरीको समयमा १२ देखि १५ दिनको अन्तरमा सिँचाइ गरे प्रभावकारी हुने उहाँको भनाइ छ ।
यता, लेटाङ–१ स्थित महाभारत अर्गानिक कफी फर्मका सञ्चालक चन्द्र राईले आफूले यसअघि देखि नै प्राङ्गारिक मल प्रयोग गर्दै आएकाले हालसम्मको परिणामप्रति सन्तुष्ट रहेको बताउनुभयो । आगामी दिनमा निरन्तर प्रयोग गर्दै जाँदा यसको प्रभावकारिता अझ स्पष्ट हुने उहाँको भनाइ छ । लेटाङ–१ मा रासायनिक मलको प्रयोग निकै कम हुने भएकाले वडालाई नै प्राङ्गारिक मल प्रयोग गर्ने वडा घोषणा गरेर अघि बढाउनुपर्ने राईले बताउनुभयो ।





