वराहक्षेत्र: सुनसरीको वराहक्षेत्र नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२ औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।
गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी देखिएको भन्दै कार्यपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट हुने प्रशासनिक कार्य, योजना सञ्चालन, कार्यपालिकाका निर्णय कार्यान्वयन तथा समन्वयलगायत विषयमा गिरीको भूमिकालाई लिएर नगरवासी र सेवाग्राहीबाट गुनासो आउने गरेको बताइएको छ । पछिल्लो चार महिनाको कार्यकालमा कार्यालयको नियमित कामकाजसँग सम्बन्धित विभिन्न कमजोरी देखिएको नगरपालिकाको भनाइ छ ।
नगरवासी तथा सेवाग्राहीबाट प्राप्त गुनासा र गिरीको कार्यसम्पादनलाई आधार बनाएर कार्यपालिकाको बैठकले मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पत्राचारसमेत गरिएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।





