गोठगाउँः सुन्दरहरैंचा मेयर कपको उपाधि सुन्दरहरैंचाको वडा नम्बर ७ ले जितेको छ । आज भएको फाइनल खेलमा वडा नम्बर ६ लाई १ का विरुद्ध २ गोल गरी वडा नम्बर ७ विजेता भएको हो ।
विजेता टोलीका खेलाडीले खेलको छैटौँ मिनेटमा र २४ औँ मिनेटमा गोल गरेका थिए । जर्सी नम्बर १७ का खेलाडीले पहिलो गोल र जर्सी नम्बर ७७ का खेलाडीले दोस्रो गोल गरेका थिए । वडा नम्बर ६ ले दोस्रो हाफमा सान्त्वना गोल गरेको थियो ।
उपाधिसँगै वडा नम्बर ७ ले नगद १ लाख ३५ हजार रुपैयाँका साथमा मेडल र ट्रफी पाएको छ । उपविजेता वडा नम्बर ६ ले नगद ६७ हजार ५ सय रुपैयाँका साथमा मेडल र ट्रफी पाएको छ । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले पुरस्कार प्रदान गर्नुभयो ।
समापन समारोहमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका जनप्रतिनिधिहरु, सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखा प्रमुख लीलादेवी ओझाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।