विराटचोकः मंगलबार बिहान १० बजेदेखि नै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ स्थित डिपू चोकमा चहलपहल थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा वडाका विभिन्न व्यक्ति र संस्थालाई पञ्चेबाजा बजाएर सम्मान गरिएको छ ।
हिमचुली सांस्कृतिक समूहका सदस्यहरुले पञ्चेबाजा बजाएर कार्यक्रमको उद्घाटन तथा सम्मानमा साथ दिएका थिए । वडा कार्यालयले अग्रजहरुको उचित लालनपालन गर्ने अञ्जना विश्वकर्मालाई सम्मान गरेको थियो । त्यस्तै सीपको सदुपयोग गर्ने ताराकुमारी दर्जी तथा ज्येष्ठ नागरिक १०२ वर्षीया बिल्टी चौधरीलाई पनि सम्मान गरेको थियो ।
त्यस्तै सङ्घर्षपूर्ण जीवन बिताउने वैजयन्ती लिम्बू, पिछडिएको बस्तीमा चेतना फैलाउने सावित्री ऋषिदेव, समुदायमा बचत गर्ने बानीको विकास गराउने पारिजात महिला बचत तथा ऋण सहकारी संस्था संस्कृति संरक्षणमा क्रियाशील हिमचुली सांस्कृतिक समूह सम्मानित भएका हुन् ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायत, निवर्तमान उपप्रमुख धनमाया तामाङ, वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष जीवन राईलगायतले सम्मानपत्र दिनुका साथै दोसल्ला ओढाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले घरबाटै लैङ्गिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सहभागीलाई मनोविमर्शकर्ता सुशीला पाठकले लैङ्गिक हिंसा के हो र त्यसको कसरी प्रतिकार गर्नेलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
वडा नम्बर ६ बाट निर्वाचित कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य गीता मिश्रले गरेकी थिइन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको सामाजिक शाखाका कर्मचारी, गछिया प्रहरी चौकीका प्रमुख सूर्यबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।