इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगर सभापति विकास केसीलाई जनप्रतिनिधि बनेर इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्न सुझाव दिइएको छ । जनता बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गर्दै सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।
जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका केसी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नगर सभापति चयन भएपछि सम्मान गरिएको हो । कार्यक्रममा सहभागीहरूले सामाजिक संस्था र क्याम्पसको नेतृत्वमा सफल भूमिका निर्वाह गरेका केसीले अब जनप्रतिनिधिका रूपमा इटहरीको समग्र विकासको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।
सम्मानपछि नेता केसीले सबैको सल्लाह, सहकार्य र इटहरीवासीको भावनाअनुसार अघि बढ्ने बताए ।
कार्यक्रममा जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तीर्थ पराजुलीले सामाजिक संस्थामा सक्रिय रहँदै पार्टीमा निरन्तर योगदान गरेका केसी सबै पक्षको भावना समेटेर सर्वसम्मत रूपमा निर्वाचित हुनुले उनको नेतृत्व क्षमता देखाएको बताए ।
कामु क्याम्पस प्रमुख सञ्जीव यादवले केसीले आफूले नेतृत्व गरेका संस्थाको हितमा समर्पित भएर काम गर्ने गरेको अनुभव सुनाए ।
जनता बहुमुखी क्याम्पस बिआइसिटी विभागका प्रमुख मन्दिप भट्टराईले क्याम्पसको उन्नयनमा केसीले गरेको योगदानले पार्टी नेतृत्वमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
क्याम्पसका सहायक प्रमुख इन्द्र प्याकुरेलले केसी सञ्चालक समितिको अध्यक्ष बनेपछि विद्यार्थीको नतिजामा उल्लेखनीय सुधार हुनुका साथै प्रशासनिक, आर्थिक र भौतिक पूर्वाधार विकासमा प्रगति भएको बताए । क्याम्पस तथा सामाजिक संस्थाको नेतृत्वमा हासिल गरेको अनुभवले पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन र स्थानीय सरकारको नेतृत्व गर्न सहयोग पुग्ने उनको विश्वास थियो ।
प्रजातन्त्रवादी प्राध्यापक संघ जनता बहुमुखी क्याम्पसका अध्यक्ष लीलाबहादुर कार्कीले कांग्रेसभित्र परिवर्तनको प्रक्रिया अघि बढिरहेका बेला केसीले इटहरीको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कर्मचारी प्रमुख करुणशंकर राई, प्रजातन्त्रवादी कर्मचारी युनियनका अध्यक्ष शान्त कट्वाल कार्की, नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाइ सभापति सुमनबाबु बस्नेतलगायतले पनि धारणा राखेका थिए ।





