वसन्तपुर, (तेह्रथुम)ः नेकपा (एमाले) ले पश्चिम झुलाघाटबाट शुरु गरे झुला घाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सफल बनाउन एमाले कोशी प्रदेशले तयारी तीव्र बनाएको छ ।
सो सङ्कल्प यात्रा कोशी प्रदेशमा सफल बनाउन एमाले कोशी प्रदेश कमिटीको तेह्रथुमको वसन्तपुरमा बसेको बैठकले सङ्कल्प यात्रालाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
वसन्तपुरमा हुने सभाका लागि उपाध्यक्ष टीकाराम चेम्जोंगको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । सङ्कल्प यात्रा अन्तर्गत वसन्तपुरमा मङ्सिर २८ गते बृहत् जनसभा गर्ने एमालेको योजना छ । सो जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेश कमिटीले तयारी गरेको छ ।
जनसभाका लागि मूल व्यवस्थापन समितिको सह संयोजकमा लक्ष्मण तिवारीलाई मनोनित गरिएको छ । मूल व्यवस्थापन समितिमा सङ्खुवासभा, धनकुटा र तेह्रथुमका एमालेका जिल्ला कमिटीका अध्यक्ष सहित पदाधिकारी, एमाले जिल्ला कमिटी सुनसरी र मोरङका अध्यक्ष, तेह्रथुम, धनकुटा र सङ्खुवासभाका प्रदेश कमिटी सदस्यहरू सदस्य रहने छन् ।
जनसभाका लागि एमाले कोशी प्रदेशले विभिन्न उप समिति समेत निर्माण गरेको छ ।