विराटचोकः नेप्सेमा सूचीकृत १२ जीवनबीमा र १२ निर्जीवन बीमाबाट २०८० सालमा शेयर लगानीकर्ताहरुले १३ दशमलव ७० प्रतिशतसम्म नाफा कमाएका छन् ।
२०८० को अन्तिम कारोबार दिनमा जीवन बीमा उपसूचक १०२२८.९२ विन्दुमा कायम हुन पुगेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशत बढी हो । २०७९ सालको अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक ९६४३.१७ विन्दुमा कायम भएको थियो ।
निर्जीवन बीमा समूह पनि गत वर्षका तुलनामा २२.२६ प्रतिशतले वृद्धि भएको छ । २०७९ सालको अन्तिमसम्म ८६०३.३६ विन्दुमा रहेको निर्जीवन बीमा २०८० को अन्त्यमा १०५१८.४८ बिन्दुमा अडिएको छ ।
तथ्याङ्कअनुसार शेयर बजारमा हाइड्रोपावर कम्पनीपछि बीमा कम्पनीहरुको शेयर सर्वाधिक कारोबार भएको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना ल्याएकाले पनि बजारमा बीमाको शेयर बढी चहलपहल देखिएको हो । पूँजी वृद्धिका योजनाका विषयले वर्षभरी बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको नजर पर्न गएको देखिन्छ ।