काठमाडौं । नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सारेको छ ।
काठमाडौंमा जारी १५ औं महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको छ ।
विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो ।
पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ । आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेद्वारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा गरिएको छ ।
सत्ताका लागि भागबन्डा नगर्ने
कांग्रेसले अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य गरे पनि त्यसलाई सत्ताको लेनदेनमा नबदल्ने नीति लिएको छ ।
संविधानको रक्षा, विपद्, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागबन्डामा बदलिन नदिने दस्तावेजमा उल्लेख छ । पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य नबनाउने कांग्रेसको प्रतिबद्धता छ ।
राइट टु रिजेक्ट र विदेशबाटै मतदान
निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले कुनै पनि उम्मेद्वारलाई भोट हाल्दिनँ भन्न पाउने अधिकार अर्थात् ‘नो भोट’ वा कुनै उम्मेद्वार स्वीकार नगर्ने विकल्पलाई सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरेको छ ।
स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा स्थायी निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढाइने पनि प्रस्तावमा उल्लेख छ ।
घुम्ती आरक्षित निर्वाचन क्षेत्र र प्रतिनिधित्व सुधारका विषयलाई समेत पार्टीले सार्वजनिक बहसमा लैजाने जनाइएको छ ।





