सलकपुरः शिल्पी थिएटरको आयोजनामा भइरहेको सलकपुर कला उत्सवमा शनिबार साँझ ९ जना कलाकारले कविता सुनाएर उपस्थित साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए ।
भुल्केमा कविता शीर्षकमा महोत्सवको दोस्रो दिन दिउँसो ३ बजे भएको कार्यक्रममा मोरङ, सुनसरी र धनुषाका सर्जकले नेपाली र भोजपुरी भाषाका कविता सुनाउनुभएको हो ।
कार्यक्रममा कवि बद्री भिखारी, बादलदेवी चाम्लिङ, करुणा राई, गगन योक्पाङ्देन, सिजन श्रेष्ठ, दीपा मंग्राती, प्रयाग न्यौपाने र रमेशरञ्जन झाले आफ्ना रचना सुनाउनुभएको हो । धनुषाका सर्जक झा अनुपस्थित हुनुभएपछि उहाँकी छोरी रंगकर्मी प्रियंका झाले कविता वाचन गर्नुभएको थियो ।
सर्जक रमेशचन्द्र अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा मोरङ र सुनसरीका साहित्यानुरागीको उल्लेख्य उपस्थिति थियो ।
महोत्सवको तेस्रो दिन आइतबार विद्यालयका विद्यार्थीका लागि चित्रकला कार्यशाला हुने भएको छ ।
आइतबार नै स्थानीय समन्वयकर्ता भुल्के युवा समाजको आयोजनामा ८ जना जेनजी सर्जकले आफ्ना रचना सुनाउनुहुने समाजका कार्यवाहक अध्यक्ष अनुभव घिमिरेले जानकारी दिनुभयो ।
आइतबार साँझ ४ बजे गजल उत्सव हुने ५ बजे नाटक “म कहाँ हराएँ”को मञ्चन हुने शिल्पी थिएटरका अध्यक्ष घिमिरे युवराजले जानकारी दिनुभयो ।





