सलकपुरः भुल्के युवा समाज, सुन्दरहरैंचा–८, सलकपुरको आयोजनामा सञ्चालन गरिएको ‘सचेत युवा, सुरक्षित समाज अभियान सम्पन्न भएको छ ।
दुई दिन सञ्चालित अभियानको दोस्रो दिन असोज १४ गते ब्राइट फ्युचर बोर्डिङ र प्रभातकिरण सेकेण्डरी स्कुलमा कार्यक्रम गरी अभियान सम्पन्न गरिएको आयोजकले जनाएको छ । पहिलो दिन क्वेष्ट माविमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा युवालाई लागुऔषध दुव्र्यसनविरुद्धको जनचेतना, ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जानकारी तथा सचेतनामूलक सन्देश प्रदान गरिएको थियो । विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया, प्रश्नोत्तर तथा विभिन्न जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै भुल्के युवा समाजका कार्यवाहक अध्यक्ष अनुभव घिमिरेले आजको पुस्तालाई लागूऔषध दुव्र्यसनबाट जोगाउँदै ट्राफिक नियम तथा सडक सुरक्षाप्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो । विद्यालय तहबाटै विद्यार्थीमा सचेतना अभिवृद्धि गर्न सके सुरक्षित, अनुशासित तथा जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रम सुन्दरहरैँचा नगरपालिका–८ को समन्वयमा, इलाका प्रहरी कार्यालय विराटचोक र ट्राफिक प्रहरी पोस्ट विराटचोकको समन्वय तथा आश्रय सुधार केन्द्र, गछियाको सहयोगमा सञ्चालन गरिएको थियो ।
अभियानमार्फत् युवाहरूमा लागुऔषधविरुद्धको सचेतना, ट्राफिक अनुशासन तथा सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्दै सुरक्षित तथा जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य राखिएको समाजले जनाएको छ ।
समाजको कार्य अनुकरणीय भएको भनी विद्यालयले प्रशंसा गरेका थिए ।





