फिदिमः पाँचथर क्षेत्र नं. ‘ख’ बाट युवा व्यवसायी तथा सक्रिय राजनीतिज्ञ देवेन्द्र लामा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
नेपाली कांग्रेसको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता तथा पार्टीभित्रको सहमति र सहकार्यलाई आत्मसात् गर्दै अघि बढ्ने क्रममा लामालाई प्रदेश प्रतिनिधिका रूपमा सर्वसम्मत चयन गरिएको हो । उहाँको राजनीतिक सक्रियता, सामाजिक योगदान, युवा पुस्तासँगको निरन्तर सम्बन्ध तथा सङ्गठन निर्माणमा देखाउँदै आउनुभएको सक्रिय भूमिकालाई ध्यानमा राख्दै क्षेत्रीय प्रतिनिधिहरूले उहाँलाई सर्वसम्मत रूपमा प्रदेश प्रतिनिधिका रूपमा अघि बढाएका हुन् ।
तुम्बेवा गाउँपालिका क्षेत्रबाट राजनीतिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएका लामा एक युवा व्यवसायीका साथै सक्रिय राजनीतिकर्मी र समाजसेवीका रूपमा परिचित हुनुहुन्छ । उहाँले लामो समयदेखि नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै पार्टीका विभिन्न तह र कार्यक्रममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
यसअघि पनि उहाँले नेपाली कांग्रेसको क्षेत्रीय÷प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको थियो । पार्टीको संगठन निर्माण, कार्यकर्तासँगको समन्वय तथा स्थानीय तहदेखि प्रदेश तहसम्म पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन उहाँले आफ्नो तर्फबाट निरन्तर भूमिका खेल्दै आउनुभएको छ ।
उहाँ नेपाल तामाङ संघ, कोशी प्रदेशका सचिवका रूपमा समेत जिम्मेवारीमा रहनुभएको छ । तामाङ समुदायको सामाजिक, सांस्कृतिक तथा संगठनात्मक क्षेत्रमा पनि उहाँको सक्रियता रहँदै आएको छ । राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत युवाहरूलाई जोड्दै अघि बढ्ने उहाँको भूमिकालाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।
प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि लामाले आगामी दिनमा नेपाली कांग्रेसको संगठनलाई अझ मजबुत बनाउने, युवा पुस्तालाई पार्टीसँग जोड्ने, कार्यकर्ताबीच सहकार्य र एकताको वातावरण निर्माण गर्ने तथा जनताको भावना र आवश्यकतालाई पार्टीको राजनीतिक यात्रासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामाको राजनीतिक यात्राले अब प्रदेश तहमा थप जिम्मेवारी लिने सम्भावनासमेत देखाएको छ । उहाँले आगामी दिनमा कोशी प्रदेशमा पार्टीको कुनै पदाधिकारी वा प्रदेश सदस्यका रूपमा रहेर संगठन र पार्टीको हितमा काम गर्ने इच्छा तथा चाहना व्यक्त गर्दै आउनुभएको छ । प्रदेश तहमा प्राप्त हुने जुनसुकै जिम्मेवारीलाई इमानदारी, सक्रियता र जिम्मेवारीबोधका साथ निर्वाह गर्ने उहाँको धारणा रहेको छ ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै व्यवसाय, सामाजिक सेवा र राजनीतिलाई सँगसँगै अघि बढाइरहनुभएका लामाको प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयनलाई नेपाली कांग्रेस पाँचथरको संगठनात्मक यात्रामा युवाको सहभागिता र नयाँ पुस्ताको भूमिकाका रूपमा पनि हेर्न सकिन्छ ।
पाँचथर क्षेत्र नं. ‘ख’ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको विश्वासलाई आत्मसात् गर्दै आगामी दिनमा अझ सक्रिय भएर पार्टी संगठन, लोकतान्त्रिक मूल्य–मान्यता, युवा सहभागिता तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उहाँको अपेक्षा छ ।





