Sunday, November 15, 2026
Homeकला र साहित्यएकसाथ विमोचन गरियो साहित्यकार पुरन याक्खाका तीन कृति

एकसाथ विमोचन गरियो साहित्यकार पुरन याक्खाका तीन कृति

तीनपैनीः साहित्यकार पुरन याक्खाद्वारा लिखित तीनवटा साहित्यिक कृतिको आज एकसाथ विमोचन तथा विमर्श गरिएको छ । भानु साझा पुस्तकालयमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार बम देवानलगायत साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।

भानु साझा पुस्तकालयका अध्यक्ष रहनुभएका याक्खाका ती कृति भानु साझा पुस्तकालयले प्रकाशन गरेको हो । कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ विमोचनपछि विमर्श पनि गरिएको थियो ।

डा. अस्मिता बिष्टले ‘चर्किएको सिसाभित्र’ माथि विमर्श गर्दै शीर्षकले नै पाठकमा कौतूहल र चासो उत्पन्न गर्ने बताउनुभयो ।

कार्यक्रममा सो कृतिभित्रबाट हीरा खड्का अधिकारीले ‘टोटलाको फूल’, भरत बर्बरिकले ‘कवि रोएको बेला’ र हेमन यात्रीले ‘राग’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

साहित्यकार जेबी थुलुङले गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ माथि विमर्श गर्नुभएको थियो । पञ्चायतकालीन समयमा सिर्जना गरिएका गीतमा तत्कालीन शासकविरुद्धका आवाजसमेत अभिव्यक्त भएको थुलुङले बताउनुभयो ।

कार्यक्रममा सो कृतिभित्रका ‘तिम्रो मुस्कानको हाँसो’ बोलको गीत गायक दुर्गा पराजुलीले गाउनुभएको थियो । सो गीत पराजुलीको स्वरमा रेकर्ड भई युट्युबमार्फत् सार्वजनिकसमेत भइसकेको छ । त्यस्तै, नवराज नवशिला र किरण टी. लिम्बूले कृतिभित्रका एकएक वटा गीत वाचन गर्नुभएको थियो ।

गजलकार विवश बलिभद्र कोइरालाले ‘पलाँसको फूल’ माथि विमर्श गर्दै पलाँस शब्द आफैँमा उपेक्षित र प्रतीकात्मक अर्थ बोकेको शब्द भएको बताउनुभयो ।

कार्यक्रममा रूपनारायण श्रेष्ठले सङ्ग्रहमा रहेको ‘कति रेटुँ जिन्दगी….’ बोलको गजल वाचन गर्नुभएको थियो । त्यसैगरी रमेश निरौलाले ‘जताजता बग्छौ तिमी त्यतै हुन्छु म…’ बोलको गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा भानु साझा पुस्तकालयका सल्लाहकार राजकुमार तामाङले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पठन संस्कृतिमा असर परेको चर्चा बताउनुभयो ।

वरिष्ठ साहित्यकार बम देवानले साहित्यलाई लेखक र पाठकबीचको सिर्जनात्मक खेलका रूपमा व्याख्या गर्नुभयो ।

कृतिकार पुरन याक्खाले आफ्नो लेखकीय मन्तव्य राख्दै आफूले जीवनमा भुइँमा पोखिएका अनुभूति, गोठालो गर्दाका अनुभव, पहाडको परिवेश तथा सुखदुःखका विषयलाई सिर्जनामा समेटेको बताउनुभयो ।

प्रमुख अतिथि साहित्यकार मनु मञ्जिलले एकैसाथ तीनवटा साहित्यिक कृति सार्वजनिक हुनु आफैँमा महत्त्वपूर्ण र प्रशंसनीय काम भएको बताउनुभयो । कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’ माथि टिप्पणी गर्दै उनले जीवनका टुक्राटुक्रा अनुभूतिलाई चर्किएको सिसाभित्र देखाउने प्रयास लेखकले गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पुस्तकालयका साहित्यिक सचिव विशाल गुरागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गीताप्रसाद श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व पुस्तकालयका उपाध्यक्ष लोकबहादुर मोक्तानले गर्नुभएको थियो ।

कार्यक्रममा मोरङ, सुनसरी, झापा र इलामका स्रष्टाको उल्लेख्य उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments