सलकपुरः भुल्के युवा समाज, सुन्दरहरैँचा–८, सलकपुरको आयोजनामा ‘सचेत युवा, सुरक्षित समाज’ अभियानअन्तर्गत शिक्षा निकेतन माध्यमिक विद्यालय र क्वेस्ट इङ्लिस सेकेन्डरी स्कुलमा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलबार भएको कार्यक्रममा विद्यार्थी तथा युवालाई लागूऔषध दुव्र्यसनविरुद्धको जनचेतना, ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जानकारी तथा सचेतनामूलक सन्देश प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै भुल्के युवा समाजका कार्यवाहक अध्यक्ष अनुभव घिमिरेले युवालाई लागूऔषध दुव्र्यसनबाट जोगाउँदै ट्राफिक नियम तथा सडक सुरक्षाप्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यालय तहबाटै विद्यार्थीमा सचेतना अभिवृद्धि गर्न सके सुरक्षित तथा जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।
सुन्दरहरैंचा नगरपालिका–८ तथा इलाका प्रहरी कार्यालय विराटचोक र ट्राफिक प्रहरी पोस्ट विराटचोकको समन्वय तथा आश्रय सुधार केन्द्र, गछियाको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।





