विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको नेतृत्वका लागि सहसचिव पदमा उम्मेद्वारी दिनुभएका राजनकुमार बास्तोलाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ ।
हिजो उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि साँझ पौने ५ बजे उहाँले निर्वाचन अधिकृतलाई लिखित पत्र दिँदै उम्मेद्वारी फिर्ता गर्नुभएको हो ।
उम्मेद्वारी फिर्ताका लागि दिइएको निवेदनमा सो पदमा आफू उम्मेद्वार नबन्ने मनसायले स्वेच्छाले उम्मेद्वारी फिर्ता लिइएको उल्लेख गरिएको छ ।
अब सहसचिव पदमा विमला कार्की खड्का र कोमलप्रसाद लुइँटेलबीच प्रतिष्पर्धा हुने निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो ।
नगर कार्यसमितिको सचिव पदमा भुवनसिंह आले मगर र सदस्य पदका पाँचै जना सदस्य तथा जिल्ला सदस्यका लागि महिलातर्फ बिन्दा दाहाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
आज ८ बजेदेखि सभापति, खुला उपसभापति, महिला उपसभापति र सहसचिव तथा जिल्ला सदस्यतर्फ खुला समूहबाट प्रतिनिधित्व चयनका लागि निर्वाचन हुने भएको छ ।
सम्बन्धित समाचार





