विराटचोकः शिक्षा तथा खेलकुद मन्त्रालयले भीषण वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै आज र भोलि स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म विभिन्न ठाउँमा भीषण वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको हुनाले आवश्यकताका आधारमा विद्यालय बिदा गर्न अनुरोध गरेको हो ।
शिक्षा मन्त्रालयले विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका ठाउँमा जान नदिन आग्रह गरेको छ ।





