विराटचोकः आज विश्व ओजोन तह संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको महत्त्वबारे जनचेतना जगाउनु र यसको संरक्षणका लागि पहल गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।
यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर १६ मा विश्वभर मनाइन्छ । ओजोन तह पृथ्वीको वायुमण्डलको ‘स्ट्र्याटोस्फियर’ मा रहेको छ । यसले सूर्यबाट आउने हानिकारक पराबैजनी किरणहरूलाई पृथ्वीसम्म पुग्नबाट रोक्छ । पराबैजनी किरणले मानव स्वास्थ्यमा छालाको क्यान्सर र मोतियाबिन्दुजस्ता समस्या निम्त्याउनुका साथै जल तथा थलका पारिस्थितिक प्रणालीलाई गम्भीर क्षति पुर्याउँछ ।
सन् १९८७ सेप्टेम्बर १६ मा ओजोन तहलाई हानि पुर्याउने ग्यासहरूको उत्पादन र प्रयोग नियन्त्रण गर्न ऐतिहासिक ‘मोन्ट्रियल प्रोटोकल’मा हस्ताक्षर भएको दिनको सम्झनामा सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले सेप्टेम्बर १६ लाई ‘अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस’का रूपमा मनाउने घोषणा गरेको हो ।
रेफ्रिजरेटर, एयर कन्डिसनर र एयरोसोल स्प्रेहरूमा प्रयोग हुने क्लोरोफ्लोरोकार्बन जस्ता रसायनका कारण ओजोन तह विनाश भइरहेको बताइन्छ ।





