गछियाः मोरङको सुन्दरहरैंचा–३, गछियास्थित जुपिटर इङ्लिस स्कुलका विद्यार्थी समीर भुसालले करिब १ लाख रुपैयाँको लागतमा तीनपाङ्ग्रे बग्गी निर्माण गरेका छन् ।
विद्यालयमा सञ्चालन हुँदै आएको रोबोटिक्स तथा एआईसम्बन्धी कक्षामा सिकेको ज्ञानलाई प्रयोगमा उतार्दै समीरले उक्त बग्गी निर्माण गरेको जनाएका छन् । हालै विद्यालयमा आयोजित कार्यक्रममा उनले निर्माण गरेको बग्गी प्रदर्शन गरिएको थियो ।
विद्यार्थीले तयार पारेको बग्गीले कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा विद्यार्थीको ध्यान आकर्षित गरेको थियो । प्राविधिक तथा मेकानिकल क्षेत्रमा रुचि राख्ने समीरले आफ्नो रुचि र सीपलाई प्रयोग गर्दै बग्गी निर्माण गरेको विद्यालयले जनाएको छ ।
समीरले निर्माण गरेको उक्त बग्गी यसअघि सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा समेत प्रदर्शन गरिएको थियो ।





