Saturday, September 5, 2026
Homeधर्म र संस्कृतिएशियाकै दोस्रो ठूलो राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो ३ बजे शुरु हुने

एशियाकै दोस्रो ठूलो राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो ३ बजे शुरु हुने

विराटनगरः एशियाकै दोस्रो ठूलो रथयात्रा भनेर चिनिएको राधाकृष्ण रथयात्रा आज दिउँसो ३ बजे विराटनगरमा निकालिने भएको छ । यो ५९ औँ राधाकृष्ण रथयात्रा हो ।

राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे शुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले रथयात्रालाई व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक र सुरक्षा निकाय सक्रिय छन् ।

यसपटकको रथयात्रामा डीजे साउन्ड प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरण कायम राख्न डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो ।

रथयात्राका क्रममा रथमा राखिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन् भने विभिन्न स्थानबाट स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन् । पछिल्लो समय धार्मिक पर्वमा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएपछि मौलिकता जोगाउन यसपटक यस्तो व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

वि.सं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट शुरु भएको धार्मिक परम्परा विक्रम संवत २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो । खट यात्राको हिसाबले यो ९५ औँ यात्रा भए पनि रथयात्राको हिसाबले ५९ औँ हो ।

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ । करिब ८ किलोमिटर दूरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था मिलाइएको छ ।

रथयात्राका क्रममा भेटीबापत सङ्कलन हुने सम्पूर्ण रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ । नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट सङ्कलित रकम पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

रथयात्राको सुरक्षालाई लक्षित गरेर बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भीडको अवस्थाका बारेमा निगरानी गर्न ड्रोनसमेत प्रयोग गरिने भएको छ ।

रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति तथा २१ वटा उपसमिति गठन गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments