Wednesday, October 21, 2026
Homeधर्म र संस्कृतिखोटाङमा चाडबाडलक्षित निःशुल्क यातायात सेवा

खोटाङमा चाडबाडलक्षित निःशुल्क यातायात सेवा

खोटाङ । दसैँ–तिहारको अवसरमा आर्थिक अभाव तथा यातायातको असुविधाका कारण माइतीघर जान नसक्ने चेलीहरूलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएका छन् ।

जिल्लामा क्रियाशील युवाहरूको समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ अन्तर्गत चेलीहरूलाई माइतीघर पु¥याउने र पुनः कर्मघर फर्काउने व्यवस्था मिलाउन लागेको हो ।

विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यो अभियान यस वर्ष दसैँको अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म र तिहारको अवसरमा कात्तिक २४ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा यातायात सेवा नपाएर समस्यामा परेका चेलीहरूलाई गन्तव्यसम्म पु¥याउने उद्देश्यले दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ । आवश्यकताअनुसार पुरुषले समेत निःशुल्क यातायात सेवा पाउनेछन् ।

अभियानमा स्वयंसेवकका रूपमा सहभागी हुन हालसम्म ३५ जना युवाले नाम दर्ता गराइसकेका छन् भने थप युवा जोडिने क्रम जारी रहेको संयोजक राईले बताए ।

मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका ग्रामीण सडकमा ३५ किलोमिटरसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने योजना बनाइएको छ ।

सेवा लिन इच्छुक व्यक्तिहरूले आफ्नो विवरण टिपाउन थालेका छन् भने सुरुमा नाम दर्ता गराउनेलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइनेछ ।

जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै यात्रुले बढीमा पाँच किलोग्राम तौलसम्मको झोला मात्रै साथमा लैजान पाउने व्यवस्था गरिएको छ ।

यसअघि अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनाले निःशुल्क यातायात सेवा प्राप्त गरेका थिए ।

शुभेच्छुकहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानको एक चरणमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments