चक्रघट्टीः तिहारलाई लक्षित गर्दै वराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारका लागि फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री लगाएका छन् ।
गत वर्ष काठमाडौँबाट ल्याएका बिरुवा अग्ला हुने तर फूल कम फुल्ने समस्या देखिएपछि यस पटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरेको उनले बताए । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ ।
गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेका विष्टले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । थोरै फूल मात्रै जोगिए पनि बजारमा राम्रो मूल्य पाएकाले गत तिहारमा दुई लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गरेको उनले जानकारी दिए ।
यस वर्ष फूल प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए । विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएका छन् । वराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दासँगै धरान र इटहरीबाट समेत ग्राहक फूल किन्न खेतमै आउने गरेका छन् । खेतमै आएर फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने गरेको उनले बताए ।





