गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, सुन्दरहरैचामा एनेस्थेसिया विभागमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर मेजर अपरेशन सेवा सञ्चालनमा आएको छ । अस्पतालमा भेन्टिलेटर सेवा समेत विस्तार गरिएको छ ।
प्रसूति सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको बताइएको छ । यसै वर्षदेखि आई.सी.यू., एन.आई.सी.यू. र पी.आई.सी.यू. सेवा समेत सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद गणेश कार्कीले जनाउनुभएको छ ।
सांसद कार्कीका अनुसार सहुलियत यातायात सेवा पनि सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षण अस्पताल, कर्मचारी सबैको सहकार्यमा नयाँ सेवा बिस्तारको काम भइरहेको सांसद कार्कीले जनाउनुभएको छ ।





