गछियाः मोरङको सुन्दरहरैंचास्थित गछियामा सुरक्षित चालक ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गछिया ट्राफिक प्रहरी पोष्टको आयोजना तथा युवा स्वरोजगार सिटी चालक समूह गछियाको सहकार्यमा आयोजित कार्यक्रममा सिटी चालकहरूलाई सुरक्षित चालक ज्याकेट वितरण गरिएको हो ।
कार्यक्रममा गछिया ट्राफिक प्रहरी पोष्टका प्रमुख सहायक निरीक्षक रामबिलास चौधरीले चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले सफारी चालकहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार बन्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीले अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर मात्र सवारी चलाउन आग्रह गर्नुभयो ।
युवा स्वरोजगार सिटी चालक समूह गछियाका अध्यक्ष शिवलाल भट्टराईले चालकहरूले लागूऔषध तथा मादक पदार्थ सेवन नगरी सवारी चलाउनुपर्ने बताउनुभयो ।
ज्याकेट वितरणसँगै चालकहरूलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न सचेत गराइएको थियो ।





