Sunday, August 23, 2026
Homeकृषिसुनसरीका किसान जुट खेतीमा आकर्षित

सुनसरीका किसान जुट खेतीमा आकर्षित

इनरुवाः सुनसरीको दक्षिण पश्चिम पालिकाका किसान जुट खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उहाँलाई जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।

जुट खेती गर्दा चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।

यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको किसान बताउँछन् ।

जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुट खेतीतर्फ किसानको आकर्षण बढेको हो । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।

जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन् ।

विगतमा नेपाली जुट उद्योगलाई आवश्यक पर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।

किसानलाई जुट खेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उनले जानकारी दिए ।

जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उनले बताए । किसानले जुटको डाँठ दाउराको रुपमा प्रयोग गर्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments