Saturday, August 22, 2026
Homeराजनीतिमन्त्री श्रेष्ठको आग्रहः सरकारका कामको निगरानीसँगै आवश्यक ठाउँमा खबरदारी गर्नुस्

मन्त्री श्रेष्ठको आग्रहः सरकारका कामको निगरानीसँगै आवश्यक ठाउँमा खबरदारी गर्नुस्

विराटनगरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य विराजभक्त श्रेष्ठले महाधिवेशनसँगै रास्वपाले आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताउनुभएको छ । आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारको कामको मूल्याङ्कन पार्टी कार्यकर्ताबाटै हुनुपर्ने बताउँदै विनियोजित बजेटको कार्यान्वयन, कामको गुणस्तर र प्रभावकारितामाथि पार्टीका विभिन्न तहबाट निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारका कामलाई समर्थन गर्ने मात्र नभई आवश्यक ठाउँमा सुधारका लागि खबरदारी गर्ने भूमिका पनि पार्टी तहबाट निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले जनताका समस्या सबैभन्दा पहिले पार्टीका स्थानीय तथा प्रारम्भिक सङ्गठनसम्म पुग्ने भएकाले ती समस्या पहिचान गरी समाधानका लागि पहल गर्न र सरकारलाई झकझकाउन कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सरकारमा सहभागी नेताहरूलाई जनताको वास्तविक अवस्था र अपेक्षाबारे जानकारी गराउँदै आवश्यक ठाउँमा खबरदारी गर्नु पनि पार्टी सङ्गठनको जिम्मेवारी भएको उहाँको भनाइ थियो ।

वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र शासकीय सुधार रहेको बताउँदै मन्त्री श्रेष्ठले विकास निर्माणका केही काम अपेक्षाअनुसार अघि बढ्न नसके पनि सरकारले आफ्नो जिम्मेवारीबाट पछि नहटी काम गरिरहेको दाबी गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments