इनरुवाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताउनुभएको छ ।
शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उहाँले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
इनरुवालाई विद्युत ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने र विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गर्ने प्रतिबद्धता उहाँको थियो ।
भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उहाँले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रशारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।





