विराटचोकः सरकारले चालु आर्थिक वर्षदेखि हरेक १५ दिनमा प्रदान गर्न थालेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार हिजो घोषणा भएको छ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
सो अवधिमा ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै रहेको विभागले जनाएको छ ।





