इटहरीः हिजोको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राष्ट्रिय खेलाडीको उपचार र राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सचेतक परियारले खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिन थालिएको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने खेलाडीको उपचारमा राज्यले बेवास्ता गर्न नहुने बताउनुभएको हो । खेलाडीले देशका लागि पदक र प्रतिष्ठा ल्याउने तर गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक अभाव झेल्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उहाँको भनाइ थियो ।
‘खेल फेरि एआईले होइन, खेलाडीले नै खेल्ने हो । पदक उनीहरूले नै ल्याउने हो’, बैठकमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, ‘तर पदक र प्रतिष्ठाका लागि खेलिरहेका खेलाडीको हालत आशिष राईको जस्तो भयो भने के होला ?’
परियारको गृहनगर इटहरीका राष्ट्रिय फुटबल खेलाडी आशिष राई गत फागुन ३ गते दशरथ रंगशालामा चीनसँगको मैत्रीपूर्ण फुटबल खेलका क्रममा गम्भीर घाइते भएका थिए । राईको थाइल्यान्डमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि आशिषको परिवार अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै परियारले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’, परियारले भन्नुभयो, ‘आशिष राईको उपचारको जिम्मा सरकारले लिएर एउटा सन्देश देओस्, देशका लागि तिमी खेल, तिम्रो दुःखमा सरकार अघि सर्छ ।’





