विराटचोकः नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो विवरण अनुसार यस्तो छ वित्तीय अवस्थाः
आम्दानीमा नबिल अगाडि, प्रभु बैंक घाटामा
खुद नाफा आर्जनका हिसाबले नबिल बैंक ७ अर्ब ९० करोड नाफासहित शीर्ष स्थानमा रहेको छ । कुमारी बैंक ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः ६.२२ अर्ब, ५.०६ अर्ब र ४.५५ अर्ब खुद नाफा कमाएका छन् । खराब कर्जा व्यवस्थापन र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ घाटामा छ ।
आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने क्षमताका आधारमा भने एभरेस्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि प्रति शेयर क्रमशः १९.१० प्रतिशत र १९.०४ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता कायम राखेका छन् । निस्क्रिय कर्जाको प्रोभिजनिङ र नियामक समायोजनको भारका कारण एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
चुक्ता पूँजी, जगेडा कोष, निक्षेप र कर्जा
पूँजी, जगेडा कोष, निक्षेप सङ्कलन र कर्जा प्रवाहका दृष्टिले ग्लोबल आईएमई बैंक ३८.११ अर्ब रुपैयाँ चुक्ता पूँजीसहित सबैभन्दा ठूलो पूँजी भएको बैंक बनेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३४.१२ अर्ब पूँजी सहित दोस्रो स्थानमा छ । जगेडा कोषका आधारमा राष्ट्रिय वाणिज्य बैंक ४०.४५ अर्ब (जगेडा र सञ्चित नाफा) सहित सबैभन्दा बलियो स्थितिमा छ । नबिल बैंकको जगेडा कोष ३९.८५ अर्ब पुगेको छ । निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक (६८६.१३ अर्ब) र ग्लोबल आईएमई बैंक )(६६९.१७ अर्ब) अगाडि छन् भने कर्जा प्रवाहमा पनि नबिल बैंक (४६०.३१ अर्ब) र ग्लोबल आईएमई बैंक (४३९.३४ अर्ब) को रहेको छ ।
प्रतिशेयर आम्दानी तथा प्रतिशेयर नेटवर्थ
प्रति शेयर आम्दानीका हिसाबले एभरेस्ट बैंक ३६.९५ रुपैयाँ सहित अग्रस्थानमा छ । नेपाल बैंक (३०.६३ रुपैयाँ), राष्ट्रिय वाणिज्य बैंक (२९.१४ रुपैयाँ), स्ट्याण्डर्ड चार्टर्ड बैंक (२८.३८ रुपैयाँ), नबिल बैंक (२८.३६ रुपैयाँ) र कुमारी बैंक (२८.१७ रुपैयाँ) प्रतिशेयर आम्दानी रहेको छ । प्रभु बैंकको ईपीएस १.०२ रुपैयाँ ऋणात्मक रहेको छ ।
नेटवर्थको आधारमा नेपाल बैंक २८७.७० प्रति शेयर नेटवर्थका साथ सबैभन्दा बलियो देखिएको छ । एभरेस्ट बैंक र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । मूल्याङ्कनका दृष्टिकोणले कुमारी बैंक र नेपाल बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम र सस्तो देखिएको छ ।
एभरेस्ट बैंकले ०.४९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.०३ प्रतिशतमा मात्रै खराब कर्जा सीमित राखेर उत्कृष्ट जोखिम व्यवस्थापन प्रदर्शन गरेका छन् । प्रभु बैंकको निस्क्रिय कर्जा १५.५५ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक र कुमारी बैंकको खराब कर्जा पनि ७ प्रतिशतभन्दा बढी रहेको छ ।





