खोर्सानेः मोरङको सुन्दरहरैंचामा साहित्यिक र साङ्गीतिक कार्यक्रम गरिरहेको नझरेका फूलहरू नामक संस्थाले ‘झरी र इन्द्रेणी’ शीर्षकको अन्तिम कार्यक्रम शनिबार सुन्दरहरैंचा–१० खोर्सानेस्थित सृजना क्याफेमा सम्पन्न भएको छ ।
साहित्यकार जेबी थुलुङले शनिबार बिहान आयोजित कार्यक्रममा उपस्थित साहित्यानुरागीलाई एक घण्टाभन्दा बढी आफ्ना सिर्जना सुनाउनुभएको थियो । भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खाको अध्यक्षतामा भएको कार्यक्रममा थुलुङले आफ्ना कविता, गीत र गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टले नझरेका फूलहरूले गृहिणीदेखि सशक्त प्रतिभासम्मलाई स्थान दिइरहेको बताउनुभयो । सर्जकले फरकफरक किसिमका सिर्जना गर्छ भन्ने पुष्टि थुलुङले आफ्ना सिर्जनामा गर्नुभएको उहाँले बताउनुभयो । नारीका भावना बुझेर रचना सिर्जना गर्नमा पनि उहाँ सफल हुनुभएको डा. बिष्टले बताउनुभयो ।
करुणा बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा बालगायक शिवानी राईले कार्यक्रमको शीर्ष गीत ‘साउनको झरी बनी तिमी आऊ न…. ’ बोलको गीतका गाउनुभएको थियो । सर्जक जेबी थुलुङको रचना रहेको देशभक्ति भावयुक्त ‘पूर्वै राम्रो ए नि हौ झुल्के घामैले……’ बोलको गीत पनि बालगायक राईले गाउनुभएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य मनोनित हुनुभएकोमा प्रमुख अतिथि बिष्टलाई आयोजकका तर्फबाट कार्यक्रममा बधाईपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका विभिन्न पालिकाका सर्जक र साहित्यानुरागीको उपस्थिति थियो ।
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी





