Sunday, July 26, 2026
Homeकला र साहित्यसबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी

सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी

विराटचोकः ‘नझरेका फूलहरू’ले आयोजना गरेको ‘झरी र इन्द्रेणी’ शृङ्खलाको दोस्रो शनिबार साउन ९ गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० खोर्सानेमा रहेको सृजना क्याफेमा उपस्थित साहित्यानुरागीबीच सर्जक सबि मेवाहाङले एक दर्जन रचना वाचन गर्नुभयो ।

तोटक, इन्द्रबज्रा, शिखरिणी, शार्दूलबिक्रीडितलगायतका छन्दमा उहाँले रचना गर्नुभएका कविता सुनेर कार्यक्रममा उपस्थित साहित्यानुरागी मन्त्रमुग्ध भएका देखिन्थे ।

कविसँगै बसेर कविता सुनिरहनुभएका सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. दीपक न्यौपाने तथा कार्यक्रमका सभाध्यक्ष सर्जक जेबी थुलुङले ध्यान दिएर कविता सुन्नुका साथै प्रत्येक श्लोकश्लोकमा साहित्य रस लिनुभएको उहाँहरूको भावभङ्गीबाट देखिन्थ्यो । जुन कुरा पछि आफ्नो मन्तव्य राख्ने क्रममा न्यौपाने र थुलुङले भन्नुभएको थियो ।

दर्शक दीर्घामा रहेका साहित्यकार हेमन यात्री कसरी फुर्छ यस्तो कविता भनी सोधिरहेका थिए । उपस्थित सर्जकले हरेक श्लोकमा ताली बजाएर सर्जकलाई हौसला प्रदान गरिरहेका थिए ।

आफूले लकडाउनको समयमा छन्द सिकेर ६ वटा छन्दमा कविता लेख्ने अभ्यास गरेको साहित्यकार मेवाहाङले बताउनुभयो ।

हरेक रचना वाचन गर्नुअघि सो रचनाको रचनागर्भ समेत जानकारी दिएर वाचन गर्नुभएकाले स्रोताहरू मन्त्रमुग्ध भएको र बुझ्न सहज भएको साहित्यकार तिला लेकालीले बताउनुभयो ।

‘नझरेका फूलहरू’ले साउन महिनाका हरेक शनिबार आयोजना गर्ने झरी र इन्द्रेणीको दोस्रो शृङ्खलामा मेवाहाङले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कविता वाचनपछि आयोजक ‘नझरेका फूलहरू’को तर्फबाट प्रमुख अतिथि तथा सभाध्यक्षका साथै साहित्यकारहरु तिला लेकाली र रेखा सुवेदीले मेवाहाङलाई प्रशंसापत्र र नगद प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मोरङका सुन्दरहरैंचा, केराबारी, मिक्लाजुङ, बेलबारी तथा सुनसरीको धरानका साहित्यानुरागीको उल्लेख्य उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments