गछियाः गछिया युवा समाज, सुन्दरहरैँचाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा विद्यालय भेला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।
सुन्दरहरैंचा–५ स्थित श्रीलाल आधारभूत विद्यालय, लाटीझोडामा आयोजित कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीलाई ब्याग, कपी, पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा–५ का वडाअध्यक्ष गणेश चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा, श्रीलाल आधारभूत विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीलगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि चौधरीले बालबालिकाको शिक्षामा गरिने सहयोग समाज विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाले विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेकोमा गछिया युवा समाजप्रति आभार व्यक्त गर्नुभएको थियो ।





