Friday, August 14, 2026
Homeशिक्षा र स्वास्थ्यगलत जानकारी रहेको भन्दै इटहरीको स्थानीय पाठ्यपुस्तक ‘इटहरीको सेरोफेरो’ को पठनपाठन रोक्न...

गलत जानकारी रहेको भन्दै इटहरीको स्थानीय पाठ्यपुस्तक ‘इटहरीको सेरोफेरो’ को पठनपाठन रोक्न माग

इटहरीः इटहरी उपमहानगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लागू गरेको स्थानीय पाठ्यपुस्तक ‘इटहरीको सेरोफेरो’ माथि गम्भीर प्रश्न उठाउँदै यसको पठनपाठन तत्काल रोक्न माग गरिएको छ ।

सो पुस्तकमा तथ्यहीन, असत्य, भ्रामक तथा कपोलकल्पित सामग्री समावेश गरिएको भन्दै पाँच जना व्यक्तिले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले पुस्तकमा इटहरीको इतिहास, सामाजिक तथा शैक्षिक क्षेत्र, साहित्य, व्यवसाय र विभिन्न संघ–संस्थासँग सम्बन्धित विषयलाई गलत तथा अपमानजनक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा पुस्तकमा भाषिक तथा व्याकरणिक त्रुटिसमेत रहेको उल्लेख गरिएको छ । पुस्तकमा मानक भाषाको प्रयोग नभएको र कतिपय स्थानमा शब्द चयन तथा वाक्य संरचनासमेत त्रुटिपूर्ण रहेको उनीहरूको दाबी छ ।

उनीहरूका अनुसार पुस्तकमा इटहरीको इतिहासलाई समेत तोडमोड गरिएको छ । इटहरीको सञ्जाल, साहित्यिक तथा शैक्षिक संस्था, व्यवसायी र व्यावसायिक संस्थाका साथै समाजसेवी, सामाजिक संस्था, साहित्यकार, साहित्यिक संस्था तथा पत्रकारिताको समेत अपमान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाकाव्यकार पीताम्बर भण्डारी, लीलाधर दाहाल र जीवि लुगुनजस्ता व्यक्तित्वको नामसमेत उल्लेख गर्न पुस्तकले लाज मानेको जस्तो देखिएको उनीहरूको आरोप छ ।

विज्ञप्तिमा पुस्तकमा राजनीतिक दल तथा राजनीतिक गतिविधिसम्बन्धी विषयवस्तु पनि समावेश गरिएको भन्दै आपत्ति जनाइएको छ । प्रदेश ट्राफिक कार्यालयलाई ‘क्षेत्रीय ट्राफिक’का रूपमा उल्लेख गरिएको तथा इटहरीलाई चालक र सहचालक अर्थात् ‘डाइभर र खलासी’ जमघट हुने चोकका रूपमा चित्रण गरिएको विषयलाई पनि उनीहरूले गलत र आपत्तिजनक भनेका छन् ।

इटहरीको बसोबास तथा विकासक्रमसम्बन्धी विवरणमा समेत तथ्यगत कमजोरी रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता विषयले विद्यार्थीलाई गलत सूचना दिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाले तयार पारेको पुस्तक विद्यालयहरूमा प्रयोग भइरहेको भए पनि उपमहानगरपालिकाको नेतृत्व वर्ग र शिक्षा शाखाले पुस्तकको विषयवस्तुबारे पर्याप्त अध्ययन तथा निगरानी नगरेकोमा प्रश्न उठाइएको छ ।

उनीहरूले आगामी दिनमा इटहरीको अस्तित्व, इतिहास र विविध पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गर्दा इटहरीसँग भिजेका तथा सम्बन्धित विषयका जानकारहरूसँग परामर्श गर्नुपर्ने बताएका छन् । सम्बन्धित विज्ञहरूसँग छलफल तथा अन्तर्वार्ता लिएर विषयविज्ञमार्फत पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न सुझाव दिएका छन् ।

 

संयुक्त विज्ञप्तिमा कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, कृष्णप्रसाद अधिकारी, बद्रीप्रसाद पोखेल र लक्ष्मण निरौलाले हस्ताक्षर गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments