उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकावासीले विराटनगर–४, कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारमा सहुलियत पाउने भएका छन् ।
नगरपालिका र सो हस्पिटलबीच नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार उर्लाबारी नगरपालिकामा बसोबास गर्ने नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा तोकिएका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सम्झौतामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राई र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाललगायतको उपस्थिति थियो ।
नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा पूर्ण रूपमा उपभोग गरिसकेपछि उपचार निरन्तर गर्नुपर्ने अवस्थामा अस्पतालमा उपलब्ध अप्रेसनसहितका सेवामा २० प्रतिशत छुट दिइने भएको हो । स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा सक्रिय हुनुअघिको अवधिका बिरामीले समेत यो सुविधा पाउने व्यवस्था गरिएको बताइएको छ ।
अस्पतालले दिने छुट सुविधा लिन नगरपालिकाको तर्फबाट नगर प्रमुख वा तोकिएको पदाधिकारीको सिफारिश, ठेगाना खुल्ने परिचयपत्र तथा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
त्यस्तै, १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।
त्यस्तै, केएमसी अस्पताल काठमाडौ र भक्तपुरमा २५ प्रतिशत छुट सेवा सोही सम्झौता अनुसार प्राप्त हुने जनाइएको छ ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि एक वर्ष कायम रहने र दुवै पक्षको सहमतिमा सम्झौताका बुँदा परिमार्जन तथा सम्झौता नवीकरण गर्न सकिने उल्लेख गरिएको जनाइएको छ ।
सम्झौताअनुसार प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र छुट लागू हुनेछ । आईभीएफ, प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी, क्याबिनमा बसेर गरिने उपचार तथा औषधि र चिकित्साजन्य सामग्री, इम्प्लान्ट, सर्जिकल तथा कन्ज्युमेबल सामग्रीमा भने यो छुट सेवा लागू नहुने जनाइएको छ ।





