विराटचोकः २०८३ भदौ ४ गते र २०८४ भदौ २३ गते अनिवार्य अवकाशमा जान लागेका बहालवाला दुई सचिवले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरूले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो ।
पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुनुभएको थियो । बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
अधिकारीको सेवानिवृत्त हुने समय यही भदौ ४ गते थियो । सचिव पोखरेल भने २०८४ भदौ २३ गते अनिवार्य अवकाश हुने कर्मचारी थिए ।
सरकारले नयाँ ऐन ल्याउन लागेको र सो ऐन लागू भएमा ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीले पाउने सुविधामा कटौती हुने बुझेर सचिवहरूले राजीनामा दिएको अनुमान गरिएको छ । अझै केही कर्मचारीले राजीनामा दिन सक्ने अनुमान कर्मचारी वृत्तमा छ ।





