तेह्रथुमः प्रदेश सरकारको रु ७ करोड ५३ लाखको लगानीमा निर्माण सम्पन्न भएको तेह्रथुम सदरमुकाम म्याङ्लुङको बसपार्क निर्माणका लागि शिलान्यास भएको झन्डै दुई वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।
अब भने म्याङ्लुङ नगरपालिकाले आवश्यक तयारी पूरा गर्दै आगामी दशैंपछि बसपार्क सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ ।
म्याङ्लुङ नगरपालिका–२ मा स्थानीयवासीले दान गरेको १० रोपनी जग्गामा निर्माण गरिएको बसपार्कमा टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल, पार्किङ क्षेत्र, पहुँचमार्ग र गार्ड हाउसजस्ता पूर्वाधार तयार छन् । सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामार्फत् निर्माण गरिएको उक्त परियोजनाको ठेक्का आशिष आशीर्वाद जेभीले लिई २०८१ असारमा निर्माण सम्पन्न गरेको थियो ।
गत पुस ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बसपार्क उद्घाटन गरेसँगै पूर्वाधार विकास कार्यालयले यसको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गरेको थियो । उद्घाटनपछि नियमित रूपमा बस सञ्चालन हुन नसक्दा बसपार्क प्रयोगविहीन बनेको छ ।
स्थानीयका अनुसार बजार क्षेत्रबाट केही टाढा रहेको बसपार्कसम्म पुग्ने सडक साँघुरो र केही भाग कच्ची भएकाले वर्षायाममा सवारी आवतजावत गर्न कठिन हुने गरेको छ । यातायात व्यवसायीहरूले पनि हालको अवस्थामा बसपार्क प्रयोग गर्न व्यावहारिक समस्या रहेको बताउँदै पहुँचमार्गको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।
म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार बसपार्क सञ्चालनका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ भने पहुँचमार्गको मर्मतसम्भारसमेत गरिनेछ ।
स्थानीय तहको कानुनअनुसार बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मेवारी नगरपालिकाकै भएकाले दशैंपछि नियमित रूपमा बस सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।





