विराटनगरः मंगलबार कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी शेखर खनालले विराटनगरका उद्योगी व्यवसायी संघ संस्थाका प्रतिनिधिहरूसँग भेट गरी उद्योगी प्रकाश मुन्दडाको घरमा छापा मारेको घटनापछि त्रसित नहुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
सोमबार मुन्दडाको परिवार मात्रै होइन सबै उद्योगी व्यवसायी आतंकित हुने गरी छापा मारिएको भएको भन्ने सन्देश सार्वजनिक रूपमा व्यक्त भएपछि उनीहरूलाई आश्वस्त बनाउन र आतंकित नहुन आग्रह गर्न डिआइजी खनालले व्यवसायीहरूलाई छलफलका लागि बोलाएका थिए ।
छलफलका क्रममा उद्योगी व्यवसायीले विराटनगरका उद्योगी व्यवसायी व्यवसायमा मात्र नभएर थुप्रै सामाजिक काममा विगतदेखि नै संलग्न रही आएको बताएका थिए । गलत क्रियाकलाप गर्नेलाई निरुत्साहित गर्ने कार्यमा कहिल्यै पनि बाधा व्यवधान नगर्दा पनि सोमबार भएको घटनाले भने निजी क्षेत्रको मन नराम्ररी दुखेको भन्दै उद्योगी व्यवसायीहरुले ठूलो मिहेनतले आर्जन गरेको प्रतिष्ठा र साख नै समाप्त पार्न खोजिएको हुनाले सो घटना निन्दनीय भएको बताएका थिए ।
राज्यले जुनसुकै बेलामा पनि अनुसन्धान गर्न सक्ने भए पनि त्यसको विश्वस्त आधार नभई छापा मार्दा व्यवसायीले वर्षौं दुःख गरेर आर्जन गरेको प्रतिष्ठा र साखलाई समाप्त पार्ने व्यवहार प्रदर्शन भएको व्यवसायीले बताए । लगानीको वातावरण समाप्त पार्ने किसिमको खेल भएको व्यवसायीको भनाइ थियो ।
डिआइजी खनालले उद्योगी व्यवसायीलाई दुःख दिने नियत नभएको तर मोबाइल नम्बरसहित लिखित उजुरी आएपछि छापा हान्न आफूले अनुमति दिएको बताए । केही प्रहरी लिएर गएर छापा मार्न खनालले अनुमति दिए पनि मोरङका प्रहरी उपरीक्षक कवित कटवालको नेतृत्वमा छापा १० वटा गाडीमा प्रहरी गएका थिए ।
उद्योगी व्यवसायीहरुले आगामी दिनमा सूचनाको भेरिफाइ गर्न र यस्तो व्यवहार नदोहोर्याउन सचेत गराएका थिए ।
उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंका





