इनरुवाः हिजो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दू र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा सद्भाव र्याली निकालिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट शुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी धर्मगुरु तथा वक्ताहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै विविधताबीचको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा हालै सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो । सो घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सामाजिक सद्भाव कायम राख्दै कानुनी प्रक्रियामार्फत घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताए। उनले समुदायबीचको एकता र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।





