विराटचोकः आज पनि देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा धेरै १२०.८ मिलिमिटर वर्षा भएको छ ।
आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बादल लाग्ने र हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।





