Wednesday, June 17, 2026
Homeशिक्षा र स्वास्थ्यकेराबारीका छात्रालाई आत्मरक्षा सीपः चार विद्यालयका किशोरी लक्षित तालिम सम्पन्न

केराबारीका छात्रालाई आत्मरक्षा सीपः चार विद्यालयका किशोरी लक्षित तालिम सम्पन्न

केराबारीः ऊर्जा सामुदायिक विकासको आयोजनामा तथा केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मोरङको केराबारी गाउँपालिकाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

केराबारीस्थित सार्वजनिक माध्यमिक विद्यालय, सावित्री माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिममा छात्राहरूलाई आत्मविश्वास अभिवृद्धिसँगै सम्भावित हिंसा तथा जोखिमपूर्ण परिस्थितिबाट आफूलाई सुरक्षित राख्ने विभिन्न व्यावहारिक सीप प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले किशोरी सशक्तीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै आगामी आर्थिक वर्षमा गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्न बजेट विनियोजन गरिने घोषणा गर्नुभयो ।

उहाँले असार २ गतेदेखि ‘छात्रासँग उपमेयर’ कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिँदै किशोरीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र उनीहरूका समस्या पहिचान गरी समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

तालिममा प्रशिक्षक प्रकाश बस्नेतले आत्मरक्षाका आधारभूत सिद्धान्त, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा शारीरिक सुरक्षाका व्यावहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले आत्मरक्षा केवल शारीरिक प्रतिकारको विषय नभई सचेतना, आत्मविश्वास र सही निर्णय क्षमतासँग पनि जोडिएको बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ऊर्जा सामुदायिक विकासका कार्यक्रम संयोजक होमनाथ पोखरेलले पछिल्लो समय किशोरी तथा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटनालाई मध्यनजर गर्दै छात्राहरूलाई आत्मरक्षासम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै सुरक्षित जीवनयापनमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तालिममा सहभागी छात्रा दुर्गा खड्का र प्रजिता मगरले कार्यक्रमबाट आत्मरक्षाका उपयोगी सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै तालिम अझै केही दिन थपिएको भए थप प्रभावकारी हुने धारणा राख्नुभयो । छोटो अवधिको भए पनि तालिमले आफूहरूलाई जोखिमपूर्ण अवस्थासँग सामना गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गरेको उहाँहरूको भनाइ थियो ।

बुद्ध माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम कार्की र प्रधानाध्यापक छविलाल धमलाले आत्मरक्षा तालिमलाई किशोरीहरूको सुरक्षा, आत्मविश्वास र सशक्तीकरणसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा केराबारी गाउँपालिकाकी कार्यपालिका सदस्य लीलादेवी दास र महिला, बालबालिका शाखा प्रमुख रञ्जु श्रेष्ठले पनि आफ्नो भनाइ राख्नुभयो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी खेमचन्द्र अधिकारीले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments