विराटचोकः विश्वकप फुटबलको साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा समूह चरणको पहिलो खेलमा सेनेगललाई पराजित गरेको छ ।
आज बिहान अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको हो । फ्रान्सको जीतमा कप्तान केलिएन एमबाप्पेले २ र ब्राडली बारकोलाले एक गोल गरे । सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल फर्काएका थिए ।
खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८२ औं मिनेटमा बारकोलाले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाएका थिए ।
मध्यान्तरपछिको इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल गरे । यसको केही मिनेटमै फ्रान्सका कप्तान एमबाप्पेले थप गोल गरे ।
फ्रान्सले सेनेगलसँग २४ वर्षअघिको हारको बदला पनि लिएको छ । सन् २००२ मा भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो ।
सेनेगलविरुद्ध २ गोल गरेका एमबाप्पेले विश्वकपमा कुल १४ गोल गरेका छन् । यसअघि उनले सन् २०१८ मा ४ र २०२२ को विश्वकपमा ८ गोल गरेका थिए । विश्वकपमा हालसम्म सर्वाधिक १६ गोल गर्नेमा जर्मनीका मिरोस्लाभ क्लोज छन् ।




