Wednesday, June 17, 2026
Homeअर्थघरजग्गाजेठमा घट्यो घरजग्गा कारोबारको राजस्व

जेठमा घट्यो घरजग्गा कारोबारको राजस्व

विराटचोकः भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार घरजग्गा (रियल इस्टेट) बजार पछिल्लो समय क्रमिक रूपमा सुधारिँदै गएको छ । जेठले घरजग्गा कारोबारको परिमाण (भोल्युम) बढे पनि राजस्व भने घटेको छ ।

उच्च मूल्य भएका घरजग्गाको खरिदबिक्री कम हुँदा राजस्व सङ्कलन भने वैशाखको तुलनामा जेठ महिनामा केही गिरावट आएको छ । विभागको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूबाट ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जेठ महिनामा करिब १६.२८ प्रतिशत अर्थात १ अर्ब १ करोड ९५ लाख रुपैयाँले घटेर ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । कुल राजस्व घटे पनि घरजग्गा कारोबारको मुख्य सूचक मानिने सेवा कर र रजिष्ट्रेशन दस्तुरमा भने जेठ महिनामा उत्साहजनक वृद्धि देखिएको छ ।

बैशाख महिनाको तुलनामा जेठ महिनामा यी दुवै सूचकहरूमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले सेवा करबापत २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ सङ्कलन गरेका थिए । जेठ महिनामा यो रकम २०.०३ प्रतिशतले वृद्धि भई ३४ करोड ४० लाख ६३ हजार ४०२ रुपैयाँ पुगेको छ ।

बैशाखमा रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ सङ्कलन भएकोमा जेठ महिनामा १९.१८ प्रतिशतको वृद्धिसहित ३ अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७ रुपैयाँ सङ्कलन भएको छ ।

बजारमा किनबेचको सङ्ख्या बढेर सेवा कर र रजिष्ट्रेशन दस्तुर बढे पनि कुल राजस्वमा गिरावट आउनुको मुख्य कारण पूँजीगत लाभ करमा आएको सङ्कुचन भएको बताइएको छ ।

बैशाख महिनामा सरकारले घरजग्गाको पूँजीगत लाभ करबापत २ अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ उठाएको थियो । जेठ महिनामा सेवा कर र रजिष्ट्रेशन दस्तुर कटाई बाँकी रहेका विधाहरू (पूँजीगत लाभ कर र विलम्ब शुल्क) बाट १ अर्ब ५७ करोड १६ लाख रुपैयाँ मात्र राजस्व उठेको देखिन्छ ।

जेठ महिनामा मध्यम तथा न्यून मूल्य भएका जग्गाहरूको कित्ताकाट र किनबेच (विशेष गरी तराई र सहरोन्मुख क्षेत्रमा साना प्लटहरू) अत्यधिक मात्रामा भएको छ । जसले गर्दा रजिष्ट्रेशन शुल्क बढेको छ । ठूला व्यावसायिक कम्पनीहरू र व्यावसायिक घरानाहरू संलग्न हुने अर्बौँ मूल्यका ठूला प्लट तथा व्यावसायिक भवनहरूको किनबेच सुस्त हुँदा पूँजीगत लाभ कर अपेक्षित रूपमा सङ्कलन नहुँदा राजस्व घटेको देखिन्छ ।

विभागको कार्यालयगत तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाभित्रका मुख्य मालपोत कार्यालयहरूमा बैशाखको तुलनामा जेठ महिनामा राजस्व सङ्कलन र लिखत पारितको सङ्ख्यामा उल्लेख्य सुधार आएको छ ।

बैशाखको तुलनामा जेठ महिनामा नेपालको रियल इस्टेट बजार सङ्ख्यात्मक रूपमा बढी चलायमान बनेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments