गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा–७ गोठगाउँले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुबा र हजुरआमालाई आज विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । १०० जनाभन्दा बढी अभिभावकलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद फुयालले जानकारी दिनुभयो ।
विद्यालयले पुरस्कार वितरण तथा दीक्षान्त समारोहको आयोजना गरी विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायतका अतिथिले खादा तथा उपहार प्रदान गरी अभिभावकलाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गुरागाईँले पछिल्लो समय सुन्दरहरैंचामा सञ्चालनमा रहेका विद्यालयमा सुन्दरवाटिकाको शैक्षिक गुणस्तर राम्रो रहेको बताउनुभयो । शैक्षिक गुणस्तर राम्रो भएका र राम्रो शैक्षिक भवन भएका विद्यालयलाई थप कक्षाको अनुमति नगरपालिकाले दिएको र त्यसमा सुन्दरवाटिका पनि परेको गुरागाईँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य तथा मन्तव्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा पूर्व प्राथमिक तह पार गरी १ कक्षामा पुग्ने विद्यार्थीलाई दीक्षित गरिएको थियो । विद्यालयमा आएका नयाँ विद्यार्थीलाई सम्मानका साथै सिङ्गिङ आइडल, अभिभावक नृत्य, पुरस्कार वितरणलगायतका अन्य कार्यक्रम विद्यालयले सञ्चालन गरेको थियो ।
कार्यक्रमको समापन समारोह भोलि हुने विद्यालयले जनाएको छ ।




