काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारी आजदेखि अञ्जन श्रेष्ठले सम्हाल्ने भएका छन् । महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।
श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए । उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेका छन् । महासंघको ५७ औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
लक्ष्मी ग्रुपसँग सम्बन्धित उनले २०४५ सालदेखि परिवारले सुरु गरेको कन्फेक्सनरी उद्योगमा काम शुरु गरेका थिए । उक्त उद्योग अहिले सुजल फुडका रूपमा सञ्चालनमा छ । लक्ष्मी ग्रुपअन्तर्गत उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल र अटोमोबाइल क्षेत्रमा काम विस्तार गरेका छन् ।
पछिल्लो समय स्टिल उत्पादन र गाडी असेम्बलसम्बन्धी उद्योग पनि सञ्चालनमा ल्याइएको यो समूहअन्तर्गतका विभिन्न उद्योगमा तीन हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।




