सलकपुरः आज दिउँसो पौने १२ बजे मोरङको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा एकै दिशातर्फ गइरहेको ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आशिष बिक र सुन्दरहरैँचा–७ कै १८ वर्षीय हरिबहादुर बिक घाइते भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय राकेश खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।




