विराटचोकः आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । यसै क्रममा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा क्रियाशील ९ जना सञ्चारकर्मीलाई सम्मान गरेर दिवस मनाएको छ ।
जेसीज सचिवालयमा आयोजित कार्यक्रममा इन्द्रपुर जेसीज वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतका साथै प्रमुख अतिथि इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पत्रकारहरू कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्छदार (जनचर्चा टाइम्स), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र ज्ञाननाथ ढकाल (निष्पक्ष खबर) लाई जेसीजले सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले २५ औँ वर्ष पुगेको अवसर पारेर विश्व प्रेस स्वतन्त्रता दिवसमा सम्मान गरेको अध्यक्ष समीर बस्नेतले बताउनुभयो ।
पत्रकारितामार्फत सत्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्दै नागरिकलाई सुसूचित बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिनु जेसीजको सह्रानीय कार्य भएको प्रमुख अतिथि खड्काले बताउनुभयो ।
सम्मानित सञ्चारकर्मीको तर्फबाट आफ्नो धारणा राख्नुहुँदै शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीले वर्तमान सरकार प्रेसमैत्री नरहेको बताउनुभयो । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने नीति लिएर अघि बढेको सरकारका गतिविधिले वर्तमान सरकार निरङ्कुशतातिर बढेको सङ्केत मिलेको उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




