विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेपछि शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शाहको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो शीतल निवासमा हुने भएको छ ।
बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयन भएसँगै उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । काठमाडौँको महानगर प्रमुखका रूपमा चर्चामा रहेका शाहले राष्ट्रिय राजनीतिमा प्रवेश गरी छोटो समयमै देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।





