विराटचोकः आज मुस्लिम धर्मावलम्बीहरू इद उल फितर मनाउँदैछन् । इदको शाब्दिक अर्थ अरबी भाषामा (चाड वा भोज) हो ।
इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू पर्छन् । इद उल फितर तीन दिन लामो चाड हो । इद अल अधा चार दिन लामो हुन्छ ।
इद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ । इद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ ।
इस्लाम धर्मावलम्बीको महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गर्छन् । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ । त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गर्छन् । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।
प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । प्रार्थनापश्चात् एकै ठाउँमा परिवारका सदस्यहरू भेला भई भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ ।
इदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुला भजन गृह या ठाउँमा सामुहिक रूपमा गरिन्छ ।
इदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।





