विराटचोकः हिन्दू धर्मावलम्बी आज गौरी व्रत पर्व मनाउने गर्छन् । चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवाहित स्त्रीहरू र कुमारीहरू दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् ।
यो व्रतलाई गण गौर व्रत पनि भनिन्छ । त्यसका सौ गौरी तृतीया, सौभाग्य गौरी व्रत र गौरी पूजा पनि भन्ने चलन छ ।
सामान्यतः चैत्र कृष्ण प्रतिपदाका दिन शुरु गरेर आज चैत्र शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन यो व्रत लिने गरिन्छ । शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान् शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ ।
यो व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरूसम्म एक अर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय यो व्रतले गरेको छ ।





